Press Release

हुलास स्टिलको वातावरणमैत्री नयाँ प्लान्ट सञ्चालनमा

बारा । सिमरास्थित हुलास स्टिलले जस्ता पाता उत्पादन गर्ने वातावरण मैत्री नयाँ प्लान्ट सञ्चालनमा ल्याएको छ । उद्योगले आफ्नो ७० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रम मार्फत सो नयाँ प्लान्टको उद्घाटन गरेको हो । 

उद्योगले प्रदूषण न्यूनीकरण गर्न डिजेल र कोइलाबाट सञ्चालन हुने पुराना प्रविधि हटाउँदै विद्युतबाट सञ्चालन गर्न सकिने नयाँ र आधुनिक प्लान्टहरू स्थापना गरेको हो ।

हुलास स्टिल सञ्चालनको नेतृत्व लिइरहेका हिमान्सु गोल्छाले बिगतमा उद्योगमा कोइला,डिजेलको प्रयोग गरिएकोमा विद्युतबाट सञ्चालन हुने एनीलिन्क प्लान्टको उद्घाटन गरिएको बताए । यस नयाँ प्लान्ट अत्यन्तै वातावरण मैत्री भएको उनले जनाएका छन् ।

‘हामी विद्युतको प्रयोग गरेर सिआसी सिट बनाउँछौँ, उद्योगले वातावरणमैत्री नीति लिएर विद्युत् प्रयोगमा जोड दिएको हो’ उनले भने, ‘नयाँ प्लान्टबाट हामीले ३० हजार मेट्रिकटन उत्पादन गर्न सक्छौ, यसको कुल बजारको मूल्य ३ अर्बको हुन्छ । सिआसी उद्योगको लागि आवश्यक कच्चा पदार्थ हो ।’

 यसको प्रयोग फर्निचर बनाउन, बक्सा बनाउन हुने गर्दछ । नेपाल र छिमेकी मुलुक भारतमा सिआसीको मार्केट ठुलो भएकाले  निकट भविष्यमै उत्पादनको ४० प्रतिशतसम्म निर्यात गर्ने उद्देश्य रहेको गोल्छाले बताए । पछिल्लो समय देखिएको आर्थिक मन्दी कारण उद्योगहरू धराशायी हुँदै गएको भन्दै हुलास स्टिलको उत्पादन पनि  २५ प्रतिशतसम्म घटेको जनाइएको छ ।

‘हामीले दिनुपर्ने दायित्व सबै दिनुपर्छ, बैंकको ब्याजदर बढ्दा धेरै नै समस्या भएको छ नेपाल राष्ट्र बैंक होस् वा नेपाल सरकारको अर्थ मन्त्रालयले ऋण लगानी गर्दा अलि खुकुलो नीति लिनुपर्छ’ गोल्छाले भने ‘अर्थतन्त्र चलायमान हुनका लागि बैंकको पैसा चाहिन्छ, सरल रुपमा बैंकहरुले ऋण दिइयो भने अर्थतन्त्र चलायमान हुन्छ यसका लागि सरकारले लिएको कडा नीतिमा अलिकति खुकुलो बनाइदिनुपर्यो भन्ने हाम्रो माग हो,यसो गर्दा उद्योगलाई राहत मिल्छ, तर अहिले साना–ठुला सबै खालका उद्योगहरू एकदमै समस्यामा छन् ।’

पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा जग्गाको मूल्य अत्यधिक रुपमा बढेकोले थप उद्योगहरू आउन सक्ने वातावरण छैन । तर, उद्योगीहरूले भने औद्योगिक करिडोर भित्रका भित्री क्षेत्रमा पनि सडक र विद्युत्को पूर्वाधारहरू निर्माण गरे अन्य थप उद्योगहरू करिडोरमा आउन सक्ने गोल्छाले जनाएका छन् ।

‘उद्योगलाई प्रोत्साहन गर्न बैङ्किङ नीति परिवर्तन गरेर उद्योगलाई ब्याजदरमा २ प्रतिशत कम गर्ने, नेपालमै उत्पादन भएको सामग्री ठुला आयोजनाहरूमा सरकार आफैले किनिदिने, यसो गर्दा  स्वदेशी उद्योगहरूलाई अझ हौसला मिल्छ’ उनले भने ‘ अहिले हाइड्रोपावर बन्दै छ, ट्रान्समिटर लाइन निर्माण भइरहेको छ, तर यसमा सबै सामान भारतबाट आइरहेको छ तर नेपालको पूर्वाधार निर्माणमा नेपालकै सामान प्रयोग हुनुपर्छ ।’

७ दशकको इतिहास बोकेको हुलास स्टिलले जस्तापाता सँगसँगै विद्युत् पोल, ट्रान्समिटर टावर नेपाल टेलिकमलाई आवश्यक टावरहरू सप्लाई गरिरहेको छ भने पछिल्लो समय सडक दुर्घटना न्यूनीकरण गर्नका लागि आवश्यक उपकरण उत्पादनको काम गरेको जनाइएको छ । 

हुलास स्टिल उद्योगमा स्थायी, अस्थायी, करार र ठेकदार मार्फत गरेर हाल १ हजार २ सय कर्मचारी, मजदुर, सुरक्षा गार्ड कार्यरत छन् । आइतबार नयाँ प्लान्ट उद्घाटन कार्यक्रममा बोल्दै जीतपुर सिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले आर्थिक वर्ष २०८०÷८१ लागी वनेको आर्थिक ऐन २०८० कुनैपनि अवस्थामा परिमार्जन वा हेरफेर नहुने बताए । चालु आर्थिक वर्षको लागि उपमहानगरले बनाएको आर्थिक ऐनका करको दर,करको शिर्षकहरुको विषयलाई लिएर चौतर्फी विरोध भइरहेको बेला नगर प्रमुख पौडेलले एक पटक निर्माण भइसकेको ऐन कुनैपनि अवस्थामा थपघट गर्न नमिल्ने जिकिर गरेका छन् ।

यसैविच उपप्रमुख भोला प्रसाद अधिकारीले हुलासबाट निस्किने प्रदूषित पानीलाई व्यवस्थापन गर्न उद्योगले आवश्यक कार्य गर्नुपर्ने सुझाव दिए । 

Source: https://www.ratopati.com/story/376603/hulas-steel-

More Like This

Press Release from Hulas Steel